(Sunday , 12 May,2024)

त्रिभुवन विमानस्थलमा छैनन यात्रु र उडान, अन्तर्राष्ट्रिय तर्फ भने अहिलेसम्मकै धेरै यात्रु   

author

Arpana Bhujel

काठमाण्डौ । त्रिभुवन विमानस्थलबाट सन् २०२३ मा अन्तर्राष्ट्रियतर्फ अहिलेसम्मकै धेरै ४५ लाख ४१ हजार १३७ जना यात्रुले आवातजावात गरेका छन् । जसमा नेपालबाट २४ लाख २० हजार ७८७ जना विदेश गएका छन् भने २१ लाख २० हजार ३५० जना नेपाल भित्रिएका छन् ।

सन् २०२३ मा आवतजावत गर्ने यात्रुको सङ्ख्या गएको वर्षको तुलनामा ३० दशमलव १८ प्रतिशतले धेरै हो भने कोभिड–१९ महामारी शुरु हुनु अघि सन् २०१८ को भन्दा ४ दशमलव ५ प्रतिशतले धेरै हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म त्रिभुवन विमानस्थलमा ३१ हजार ४ सय ६० वटा अन्तर्राष्ट्रिय उडान भएका छन् ।

उडान सङ्ख्या सन् २०२२ को तुलनामा २९ दशलमव ४ प्रतिशतले बढी हो भने कोरोना महामारी भन्दा अगाडि सन् २०१८ को भन्दा १० दशमलव ७६ प्रतिशतले कम हो । यस्तै अन्तर्राष्ट्रिय कार्गो  सन् २०२२ भन्दा १३ दशमलव ९८ प्रतिशतले घटेर २२ हजार नौ सय ४६ टन तीन सय ७७ किलोमा झरेको छ ।

अन्तर्राष्ट्रिय यात्रुको आवतजावत बढे पनि आन्तरिक आवागमन भने घटेको छ । सन् २०२३ मा त्रिभुवन विमानस्थल प्रयोग गरेर ४१ लाख ५० हजार ३२६ जनाले आवतजावत गरेका छन् । यो सङ्ख्या सन् २०२२ को भन्दा सात दशमलव ०७ प्रतिशतले कमी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयले जानकारी दिएको छ ।

आन्तरिक हवाइ उडानको सङ्ख्या पनि सन् २०२२ को भन्दा १० दशमलव ३६ प्रतिशतले घटेर ९६ हजार नौ सय ८९ मा झरेको छ । आन्तरिक उडानमा कार्गो ओसारपसार भने अघिल्लो वर्षको तुलनामा १० दशमलव ८७ प्रतिशतले बढेर चार सय २६ टन आठ सय ६१ किलो भएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal