(Saturday , 11 May,2024)

एनसेलको सेयर बिक्री रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश

NepalNewsLine

NepalNewsLine

काठमाडौं । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले खरिद बिक्री भएका एनसेलका सेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

यो प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई २५ मंसिर छलफलमा बोलाएको छ ।

गोकुलबहादुर रोकायाले एनसेलको शेयर खरिदबिक्रीको निर्णय सार्वजनिक भएलगत्तै उक्त कारोबारलाई नेपालभित्र मान्यता नदिन माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।

गत हप्ता मलेसियाली कम्पनी आजियटाले एनसेलको आफ्नो सेयर गैरआवासीय नेपाली सतीशलाल आचार्यलाई बिक्री गरेको जानकारी गराएको थियो । उसले एनसेलको ८० प्रतिशत शेयर स्वामित्व भएको रेनोल्ड होल्डिङ्स नामक कम्पनी सतीशलालको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई करिब ६ अर्ब नेपाली रुपैयाँमा बिक्री गरेको उल्लेख गरेको थियो ।

उच्च अदालत पाटनले संसदको सार्वजनिक लेखा समितिले शेयर खरिदबिक्री रोक्का गर्न सरकारलाई निर्देशन दिएको, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत छानबिन गर्ने् भनेर सूचना निकालेको र  प्रधानमन्त्रीले समेत यसबारे अध्ययन गर्न निर्देशन दिएको भन्दै यस विषयमा रिट निवेदक र विपक्षीलाई छलफलमा बोलाउने र त्यतिबेलासम्म खरिद बिक्रीको विषयलाई यथास्थितिमा राख्न भनेको हो ।

उच्च अदालतले शेयर खरिद बिक्रीबारे कुनै निर्णय गरेको भए त्यो समेत लिएर छलफलमा आउनु भनी आदेश दिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal