(Saturday , 11 May,2024)

संसदीय समितिमा विचाराधीन रहेका विधेयक अघि बढाउन सभामुखको सक्रियता

NepalNewsLine

NepalNewsLine

संसदीय समितिहरूलाई कानुन निर्माणका क्रममा भएका सहजता र असहजताका विषयमा सभामुख देवराज घिमिरेले समिति सभापतिसँग छलफल गरेका छन्।

आइतबारको छलफलमा पछिल्लो अवस्थामा संसदीय समितिका कामहरू गतिहीन जस्तै बन्दा समितिमा विचाराधीन विधेयकहरूको टुंगो लाग्न नसकेको विषय प्राथमिकतामा राखिएको थियो। सरकारले नयाँ विधेयक दर्ता गरेको छैन, दर्ता भएका विधेयक पनि अघि बढेका छैनन्। समितिमा रहेका विधेयक पास भएका छैनन्। यस्तो अवस्थाले आगामी संसदको अधिवेशन प्रभावकारी नहुने सङ्केत  सभामुख देवराज घिमिरेले गरेका छन्।

विभिन्न समितिमा रहेका दर्जनौँ विधेयकलाई टुंगो नलगाएसम्म आगामी संसद अधिवेशनमा बिजनेस नहुने भन्दै सभामुखले समिति सभापतिहरूको ध्यानाकर्षण गराएका छन्। समिति सभापतिहरूले समितिमा सांसदको आवश्यक संख्यामा उपस्थिति नहुँदा कोरम नपुगेको, विधेयक माथिको छलफलमा सरकारका मन्त्री उपस्थित हुनुपर्नेमा मन्त्रीलाई उपस्थित गराउन नसकिएको जस्ता समस्याहरू बताएका थिए। संसदीय समितिका सभापतिहरूबिच यसअघि गत भदौ १३ गते छलफल भएको थियो।

बैठकमा समितिका कामकारबाहीका विषयमा छलफल हुनुका साथै समितिमा विचाराधीन विधेयकहरूका सम्बन्धमा छलफल भएको थियो। गत भदौ ११ गते प्रतिनिधिसभाको १० वटा विषयगत समितिको सभापतिहरू सर्वसम्मत रूपमा चयन भएका थिए। सभामुखले गरेको गत भदौ १३ गतेको छलफल र आइतबारको छलफलमा विचाराधीन विधेयकमा खासै प्रगति देखिएको थिएन।

छलफलमा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी, पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंह, अर्थ समिति सभापति सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति डा. आरजु राणा देउवा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खान, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादव, महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साह उपस्थित थिए। कानुन, न्याय तथा मानवअधिकार समिति सभापति विमला सुवेदी भने उपत्यका बाहिर भएका कारण उपस्थित थिइनन्।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal