(Sunday , 12 May,2024)

भूकम्प प्रभावित क्षेत्रलाई सहयोग गर्न सबैभन्दा बढी प्रदेश सरकार अग्रसर : कुन प्रदेशको सहयोग कति ?

NepalNewsLine

NepalNewsLine

१८ कार्तिक,काठमाडौँ - शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुममा गरी १५७ जनाको निधन भएको छ । सयौँ स्थानीय घाइते भएका छन् । भूकम्पको केन्द्रबिन्दु आसपास रहेका जाजरकोट, रुकुम लगायतका जिल्लाका धेरै कच्ची घरहरू भत्किएका छन् । मानवीय क्षतिसँगै पशुचौपाया र भौतिक संरचनामा क्षति पुगेको छ । 

भूकम्पले क्षति पुर्‍याएपछि त्यस क्षेत्रका जनताको चहर्‍याएको घाउमा मल्हम लगाउन विभिन्न संघ–संस्था, दातृ निकायहरूका साथै प्रदेश र स्थानीय सरकारले पनि राहत दिने घोषणा गरेका छन् । 

देशका ७ प्रदेश मध्ये ४ वटा प्रदेशले सो क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग रकमको घोषणा गरिसकेका छन् भने अन्य सरकारले पनि त्यसबारे निर्णय गर्ने बताएका छन् । 

१ करोड आर्थिक सहयोग गर्ने कोशी प्रदेश सरकारको निर्णय

कोशी प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितका लागि १ करोड आर्थिक सहयोग गर्ने  निर्णय गरेको छ । शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको मुख्यमन्त्री केदार कार्कीले अपिलमार्फत जानकारी दिएका छन् । 

मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश सरकारलाई आवश्यक मानवीय सहयोग सामाग्री पठाउने व्यवस्था मिलाइएको र सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माण लगायतका कार्यमा सहयोग पुर्‍याउन कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

अपिलमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा उद्धार र राहतमा जुट्न समेत आग्रह गरिएको छ ।  अपिलमा भनिएको छ–‘प्राकृतिक विपद्को यस समयमा भूकम्पबाट प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा उद्धार, राहत, स्वास्थ्य उपचार आदि कामका शीघ्रताका साथ जुट्न विभिन्न संघ, संस्था, निकाय एवं नागरिक समाज लगायत सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौ ।’ 

बागमती प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने

यता बागमती प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितहरूलाई राहत स्वरूप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । भूकम्पबाट पीडितहरूको  राहत, उद्धार, र पुन निर्माणको लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख कर्णाली सरकारमार्फत वितरण गर्ने भएको हो । 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आपत्कालीन अवस्थामा कर्णाली प्रदेश सरकारलाई राहत र उद्धारमा सहयोग गर्न सो रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी केही दिनमा नै उक्त रकम कर्णाली सरकारलाई हस्तान्तरण गरिने छ ।

सुदूरपश्चिम सरकारद्वारा १ करोड रुपैयाँ सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा

यस्तै सुदूरपश्चिम प्रदेश सरकारले पनि जाजरकोट भूकम्प प्रभावितलाई एक करोड रुपैयाँ रकम सहयोग गर्ने घोषणा गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सहयोग गर्ने निर्णय गरेको हो । 

मुख्यमन्त्री कमलबहादुर शाहले गएराति जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको कारण ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोग गर्ने निर्णय गरेको बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई सहायता पुग्ने गरी तत्काल १ करोड रुपैयाँ र स्वास्थ्य सामाग्रीसहित २० जनाको चिकित्सक टोली पठाउने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेश सरकारले डेढ करोड रुपैयाँ सहयोग गर्ने

यस्तै लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । तुलसीपुरमा शनिवार बसेको प्रदेश सरकारको बैठकले डेढ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिएका छन् । 

यस्तै प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउने निर्णयसमेत गरेको छ । प्रदेशले यसअघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ ।

गण्डकी सरकारले भोलि आर्थिक सहयोगबारे निर्णय गर्ने, पठायो स्वास्थ्यकर्मीको टोली

यता गण्डकी प्रदेश सरकारले भने भूकम्पबाट पीडितका लागि आर्थिक सहयोगको घोषणा गरेको छैन । भोलि छलफल गरेर यसबारे निर्णय निर्णय लिने बताइएको छ । साथै नागरिकको उद्धार र उपचारमा आफू पनि साथमा रहेको गण्डकी प्रदेशले जनाएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिवार एक विज्ञप्ति जारी गरी कर्णालीको पीडामा गण्डकी सरकारले सहयोग गर्ने बताएका छन् । उनले प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउने उद्देश्यले गण्डकी प्रदेश सरकारले स्वास्थ्य सामग्री सहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाएको छ । 

डा. विकास गौचनको नेतृत्वमा हाडजोर्नी विशेषज्ञ र एनेस्थेसियाको टोली कर्णाली पठाइएको र आवश्यकता अनुसार थप सहयोग पठाउन आफूहरू तयार रहेको मुख्यमन्त्री पाण्डेले बताएका छन् । 

मधेसका मुख्यमन्त्री यादवद्वारा भूकम्पबाट दुःख व्यक्त, बैठक बसेर सहयोग घोषणा गर्ने 

यता मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । मुख्यमन्त्री यादवले भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

शनिवार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो दुःखद घडीमा मधेस प्रदेश सरकार पीडितहरूको साथमा रहेको बताउँदै भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई तदारुकताका साथ अघि बढाउन नेपाल सरकारलाई आग्रह गरेका छन् । उनले मधेस प्रदेश सरकारले भूकम्प पीडितलाई सहयोग गर्न छिट्टै सर्वदलीय बैठक बसी आवश्यक निर्णय गर्ने जानकारी दिएका छन् ।

यस्तै पोखरा महानगरपालिकाले पनि भूकम्प प्रभावित क्षेत्रलाई सहयोगका लागि महानगरको तर्फबाट एकजना फोकल पर्सन तोकेको छ  । शनिवार महानगरप्रमुख धनराज आर्चायले विपद् व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र शर्मालाई फोकल पर्सन तोकेको जनाएका छन् । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal