(Saturday , 11 May,2024)

भारतमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु

NepalNewsLine

NepalNewsLine

सुर्खेत - रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरको तलका भन्ने ठाउँमा सवारी दुर्घटनामा परी एकै परिवारका ५ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा ५ वर्षीय मिलन नेवार, अर्का छोरा २ वर्षीय धड्कन नेवार र भाइ बुहारी सुस्मिता नेवार रहेका छन् ।

घटनास्थल भएको ठाउँ कर्नाटक र महाराष्ट राज्यको बिच भागमा पर्दछ । गोवा जाने मुख्य सडकमा ट्रकको ठक्करबाट गए राति उनीहरूको घटनास्थलमै मृत्यु भएको चौकुने गाउँपालिकाका–७ का वडाध्यक्ष धनीराम धमलाले जानकारी दिए । धमलाका अनुसार मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचाररत थिए । उनीहरू स–परिवार बिरामीलाई अस्पतालमा भेट्न गएका थिए । भेटेर फर्किने बेलामा ट्रकले ठक्कर दिइएको बताइएको छ ।

वडाध्यक्ष धमलाका अनुसार रतनले चलाएको बाइकलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो । ‘रतनको परिवार सबै एउटै बाइकमा सवार थिए भन्ने कुरा मैले परिवारबाट बुझेँ,’ धमलाले भने, ‘अस्पताल र कोठा नजिक पनि भएर होला तीन जना ठुलो र साना बालक सबै एकै ठाउँमा बसेको भन्ने बुझियो ।’

मृतक नेवार परिवार विगत एक वर्षदेखि रोजगारीको सिलसिलामा त्यहीँ थिए । धमलाका अनुसार सुस्मिताको एक महिना अगाडि मात्रै बिहे भएको थियो । सुस्मिताका श्रीमान पनि भारतमै छन् । यता चौकुनेमा भने बाबुआमा मात्रै रहेको र बाँकी सबै परिवार रोजगारीका लागि भारतमै रहेको धमला बताउँछन् ।

त्यहाँ रहेका नेपाली समुदायले घटनाको अनुसन्धानका लागि माग गरिरहेका छन् । यता वडाध्यक्ष धमलाले भने मृतकका परिवारको किरिया खर्च भनेर २० हजार सहयोग गर्ने निर्णय गरिएको बताए । ‘हाम्रो लागि निकै दुःखदायी घटना हो, हामीले परिवारलाई सहयोग होस् भनेर आज वडाको बैठक बसेर किरिया खर्च उपलब्ध गराउने निर्णय गरेका हौँ,’ उनले भने ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal