(Tuesday , 17 September,2024)

प्रचण्ड आन्तरिक छलफलमा व्यस्त, संगठन चलायमान बनाउन जिम्मेवारी तोक्ने तयारी

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । सत्ताबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफलमा व्यस्त देखिएका छन् । असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि उनी सोही दिन निजी निवास खुमलटार सरेका थिए ।

साढे अठार महिना सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा गरेको कामको जस लिँदै प्रतिपक्षमा बसेर सरकारविरुद्ध खबरदारी गर्ने तयारीमा उनी रहेका छन् । अब समाजवादी विचारको विकास र पार्टी निर्माणका लागि देशभर जनतामा जाने बताइसकेका छन् । साउन ११ देखि १५ गतेसम्म पदाधिकारी बैठक राखेका उनले २५ गते स्थायी समिति बैठक बोलाएका छन् ।

बैठकको एजेन्डा तय गर्न प्रचण्डले पार्टीका नेताहरू, जबसरमोर्चाका नेताहरूसँग सुझाव लिने काम गरिरहेका छन् । सरकारबाट बाहिरिएपछि आवश्यक बाहेक सार्वजनिक कार्यक्रममा कमै निस्किएका छैनन् । आफ्नै निवासमा पार्टीका विभिन्न तहका नेताहरूसँग सुझाव लिने, विचार सुन्ने काम भइरहेको ललितपुरका इन्चार्ज हरि दाहाल बताउँछन् ।

‘आन्तरिक रूपमा विभिन्न तहका नेताहरूसँग छलफल भइरहेको छ । सबैसँग सुझाव लिएपछि विचारको संश्लेषण गरी अगाडि लैजानुपर्छ भन्ने छ । बैठक अगाडि बसैका विचार सुनेर प्रस्तुत हुँदा दस्ताबेज बनाउन पनि सजिलो हुन्छ र सबैका विचारहरू पनि समेटिन्छन् । त्यसैले उहाँ९प्रचण्ड० आन्तरिक छलफलमै व्यस्त हुनुहुन्छ’, उनले भने ।

प्रचण्डसँगको छलफलमा नेताहरूले पार्टीलाई सुदृढ र एकताबद्ध बनाएर लैजाने, कमीकमजोरीबारे गम्भीर समीक्षा गर्ने, समाजवादी विचारलाई संश्लेषण गरी पार्टी निर्माण गर्ने विषयमा बढी ध्यान केन्द्रित हुने गरेको दाहालको भनाइ छ ।

अबको समाजवादी क्रान्ति प्रचण्डकै नेतृत्वमा सम्भव रहेको उनको बुझाइ छ । ‘सम्भव छैन  भन्ने हुँदैन । सम्भव छ  । प्रचण्डकै नेतृत्वमा माओवादी आन्दोलन यहाँसम्म आएको हो । समाजवादमा  जाने, समाजवादी विचार निर्माण गर्ने, आन्दोलनमा जाने  सोच प्रचण्डकै हो’, उनले भने, ‘जसले सुरुवात गर्‍यो, जसको परिकल्पना हो उसैले परिभाषित गर्ने, सार निकाल्ने काम हुन्छ । एकले परिकल्पना गर्ने र अर्कोले परिभाषित गर्दा कांग्रेस र एमाले जस्तो हुन्छ ।’

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं स्थायी समिति सदस्य जोखबहादुर महरा, केन्द्रीय सदस्यहरु रञ्जित तामाङ, रामप्रसाद सापकोटा लगायत नेताहरूले अध्यक्ष प्रचण्डलाई भेटेर पार्टी निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

‘पहिला पार्टीलाई बलियो बनाउनुपर्‍यो । पार्टीभित्रका फरक विचारलाई एकताबद्ध गर्ने, आन्तरिक अन्तर्विरोधलाई मसिनो गरी केलाएर हल गर्ने,  नेताहरूको योग्यता र क्षमता अनुसार जिम्मेवारी दिने, कार्य विभाजन गर्ने र एजेन्डा र मुद्दा मिल्नेहरू खासगरी समाजवादी मोर्चालाई कामकाजी बनाउने विषयमा छलफल भयो’, सहभागी नेता तामाङले भने ।

पार्टीलाई बलियो बनाउन, संगठन विस्तार गर्न, हिमाल– पहाड र तराईमा अभियान चलाउन सकिए माओवादी फेरी जाग्ने उनको बुझाइ छ । सरकार छाड्नुपरेपनि प्रचण्डको आत्मविश्वासमा कुनै कम नआएको तामाङले बताए ।

यस्तै स्थायी समिति सदस्य कमला रोकाले जनतामा जाने, आन्दोलनको तयारी गर्ने, संगठन बनाउने, एकता गर्नेसहितको योजना बनिरहेको बताइन् । आन्तरिक छलफल सकिएपछि बैठकको एजेन्डा तय हुने उनले जानकारी दिइन् ।

‘विचारको संश्लेषण कसरी गर्ने, पार्टी कसरी बलियो बनाउने रु जनतामा कसरी जाने रु विषयमा उहाँले आन्तरिक रूपमा विभिन्न तहका नेताहरूसँग छलफल गरिरहनुभएको छ । सबैको विचार र सुझाव सुनिसकेपछि एजेन्डा बन्ला । अहिले नै केही जानकारी आएको छैन’, उनले भनिन् ।

पदाधिकारी, स्थायी समिति, केन्द्रीय समिति, प्रदेश इन्चार्ज, अध्यक्ष लगायत भातृ तथा जनवर्गीय संगठनका नेताहरूसँग उनले छलफल गरेका छन् । कोशी प्रदेश समितिको बैठकमा भाग लिन विराटनगर पुगेका प्रचण्ड काठमाडौँ फर्किए लगत्तै स्थायी समितिको बैठकको एजेन्डा तय गर्ने तयारीमा छन् । बैठकले पार्टी संगठनलाई पुरै चलायमान बनाउने गरी कार्ययोजनासहित जिम्मेवारी दिने योजना प्रचण्डको रहेको छ ।   

संविधान संशोधनसहित ०८४ सम्म आलोपालो सरकारको नेतृत्व गर्ने गरी नेपाली कांग्रेस र नेकपा एमालेले ७ बुँदे सम्झौता गरेपछि प्रचण्ड सत्ताबाट बाहिरिएका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal