(Sunday , 08 September,2024)

माओवादीसँग पनि प्रधानमन्त्री ओलीले विश्वासको मत माग्ने

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलसँग विश्वासको मतका लागि अपिल गर्ने भएका छन् । 

साउन ६ गते आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेका छन् । 

त्यसका लागि संसद् सचिवालयमा बुधबार औपचारिक पत्र पठाएका ओलीले सबै दलसँग विश्वासको मत माग्ने तयारी भएको एमाले सांसद तथा सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

‘हामी सबै दलसँग विश्वासको मत माग्छौँ’, बर्तौलाले रातोपाटीसँग भने, ‘प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दललाई मत दिनुस् भनेर आग्रह गर्छौं ।’

उनले पार्टी र नेताहरूलाई पत्र लेखेर मत माग्ने वा मौखिक रूपमा भेटेर भन्ने विषय छलफलकै क्रममा रहेपनि सार्वजनिक रूपमै अपिल गरिसकिएको बताए ।

‘निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिएका दलहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत आग्रह गरेका छौँ’, बर्तौलाको भनाई छ । उनले माओवादी केन्द्रसहित प्रतिपक्ष दलहरूलाई पनि विश्वासको मतका लागि आग्रह गरिएको बताए । राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भएकाले तेस्रो, चौथो र पाँचौँ दलले पनि सरकारलाई समर्थन गर्दा सकारात्मक सन्देश जाने भएकाले दलहरूले यसबारेमा सोच्नुपर्ने बताए । 

नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष समेत रहेका ओली असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएर ३१ गते शपथ ग्रहण गरेका थिए । प्रधानमन्त्रीमा दाबी गर्दा कांग्रेस र एमालेका १६६ सांसदको समर्थन देखाएका ओलीलाई जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्तिले विश्वासको मत दिने बताउँदै आएका छन् । त्यस्तै राप्रपा र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि विश्वासको मत दिन सकारात्मक देखिएका छन् । यद्यपि राप्रपाले कुनै निर्णय भने गरिसकेको छैन ।  कांग्रेस, एमाले, जसपा, जनमत, जसपा नेपाल र लोसपाका सांसदहरूको सङ्ख्या १८७ पुग्छ । २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १८४ सांसदको आवश्यकता पर्छ । 

माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादीले कांग्रेस एमालेको गठबन्धन मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने योजनाअनुसार भएको भन्दै प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताउँदै आएका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal