(Sunday , 08 September,2024)

जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा विराटनगरबाट एक युवती पक्राउ

NepalNewsLine

NepalNewsLine

Image 1

विराटनगर । रोजगारीको आश्वासन दिएर महिलाहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ ।

विराटनगरको नयाँ गुद्री बजारमा भाडामा लिएको फ्ल्याटमा राखेर महिलालाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा झापाको बिर्तामोड नगरपालिका– ८ गरामनी घर भई विराटनगरमा बस्दै आएकी २४ वर्षीया सन्ध्या चुँडाललाई पक्राउ गरेको हो । चुँडालले अन्य व्यक्तिसँग मिलेर महिलाहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको प्रहरीको दाबी छ ।

प्रहरीले विराटनगर -११ नयाँ गुद्रीबजारस्थित फ्ल्याटबाट ६ जना महिलालाई उद्दार पनि गरेको छ । उद्दार गरिएका महिलाहरु २१ देखि २३ वर्ष उमेर समूहका छन् । उनीहरु काठमाडौं, काभ्रेपलाञ्चोक, स्याङ्जा र उदयपुरका १र१ जना र झापाका २ जना रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । ती महिलालाई होटलमा जागिर दिने भन्दै विराटनगर ल्याएको पाइएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार चुँडालको समूहले अवैध यौन व्यवसाय चलाइरहेका थिए । होटलमा तथा ग्राहकले भनेको ठाउँमा महिलाहरुलाई यौन व्यवसायका लागि पठाउने गरेका थिए ।

चुँडालको समूहले महिलाहरुलाई भनेको स्थानमा जान नमाने यातना दिने गरेको पाइएको प्रहरीको दाबी छ । उद्दार गरिएका केही महिलाको  शरीरमा चोटपटक पनि प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार चुँडाल र सुनसरीको इनरुवा घर भएका अन्दाजी ३० वर्षीय राजकुमार साहले विराटनगरको नयाँ गुद्रीमा घरको फ्ल्याट भाडामा लिएर महिलाहरुलाई राख्ने गरेका थिए । चुँडाल पक्राउ परेपनि साह भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal