(Sunday , 08 September,2024)

सुदूरपश्चिममा २ हजार स्थानीयलाई सुरक्षित स्थानमा सारियो

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढीका कारण सुदूरपश्चिमका ५ जिल्लाको जनजीवन प्रभावित भएको छ । कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र अछामका दुई हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ । २ हजार जनालाई विद्यालय, सामुदायिक भवन र अस्थायी टेन्टमा सारिएको सुदूरपश्चिम प्रदेशका डीआईजी रवीन्द्र केसीले बताए ।

कैलालीमा ५७८ जना, कञ्चनपुरमा ५११ परिवारका १ हजार ७३८ जना, दार्चुलामा ९९ जना र बैतडीमा १८० जनालाई डुबान क्षेत्रबाट सुरक्षित ठाउँमा सारिएको छ । अविरल वर्षाका कारण आएको बाढी बस्तीमा पसेपछि कञ्चनपुरबाट ३९ जनाको उद्धार गरिएको छ ।

घरमा बाढी पसेपछि खाटबाट लडेर पानीमा डुब्दा ७ महिने बालकको मृत्यु भएको छ । ७ महिनाका सोलु धानुकको मृत्यु भएको कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए ।

कञ्चनपुरमा महाकाली र जोगबुडा नदि बस्तीमा पसेको छ । बेलडाँडी, भिमदत्त र दोधारा क्षेत्र धेरै प्रभावित भएको एसपी जोशीले जानकारी दिए । सुदूरपश्चिममा शनिवार देखी अविरल बर्षा भइरहेको छ । कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । प्रभावित स्थानीयको उद्धारका लागी दुई हजार प्रहरी परिचालन गरिएको डीआईजी केसीले जानकारी दिए । उनले भने– ‘प्रभाावितहरुलाई खानाको व्यवस्थापन र स्वास्थ्यको समस्या समाधान गर्नेबारे छलफल भइरहेको छ ।’

कैलालीको कान्द्र्रा र काडा नदिमा आएको बाढीका कारण भजनी नगरपालिकाका वडा नम्बर ५ र ७ तथा जोशीपुर गाउँपालिका वडा नम्बर–३ र ८ तथा टीकापुर नगरपालिकाको ६ नम्बर वडा डुबानमा परेको छ ।

पूर्व पश्चिम राजमार्ग अवरुद्ध

कञ्चनपुरको बेदकोट नगरपालिका–७ मा पूर्वपश्चिम राजमार्गमा पर्ने कल्भर्ट भासिएपछि राजमार्ग अवरुद्ध भएको छ । कल्भर्ट भासिएपछि कञ्चनपुर खण्डमा सवारी आवागमन प्रभावित भएको डीआईजी केसीले जानकारी दिए  ।  

बझाङको मालाभिर क्षेत्रमा पहिरो जाँदा जय पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अन्य सुरक्षा निकायसँग समन्वय गरेर प्रभावितहरूको उद्धार प्रयास जारी रहेको डीआईजी केसीले जानकारी दिए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal