(Saturday , 25 May,2024)

बंगलादेशमा आइतबार आम निर्वाचन, विपक्षीको बहिस्कार

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । अक्टोबर अन्तिममा देशको प्रमुख विपक्षी पार्टी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले ढाकाको सडकमा उत्रिएर प्रधानमन्त्री शेख हसिनासँग आसन्न आम चुनावका लागि स्वतन्त्र र निश्पक्ष मतदाता सुनिश्चित गर्न तटस्थ अन्तरिम सरकार बनाउन माग राख्यो ।

जवाफमा अवामी लिग पार्टीकी ७६ वर्षीया प्रमुखले घातक बल प्रयोग गरेर आफ्नो विरोधीमाथि कडा जवाफ दिइन् । बीएनपीका वरिष्ठ नेताहरुका साथै हजारौं मानिस गिरफ्तार भए ।

बंगलादेशमा अब आइतबार मतदान हुनेछ, जहाँ २७ पार्टी र ४३६ स्वतन्त्र गरी १५०० भन्दा बढी उम्मेदवार ३०० संसदीय सिटका लागि प्रतिस्पर्धा गर्ने छन् । बंगलादेशको निर्वाचन आयोगका अनुसार ११९.६ मिलियन मतदाता छन्, जसले भोलि आइतबार ४२ हजार भन्दा बढी मतदान केन्द्रमा मतदान गर्न सक्नेछन् ।

प्रमुख विपक्षी पार्टी बीएनपीले चुनाव बहिस्कार गरेको छ । बीएनपीका प्रमुख पूर्वप्रधानमन्त्री खादिला जिया नरबन्दमा छिन् । र उनको दलले मतदान लक्षित गरेर शनिबार विहान ६ बजेदेखि सोमबार विहान ६ बजेसम्म ४८ घण्टे हड्ताल आह्वान गरेको छ ।

निर्वाचनमा सहभागी २७ दलमध्ये जतिया पार्टी ९जेएपीए० मात्र विपक्षी दलको प्रतिनिधित्व गर्नेछ । अरु सत्तारुढ अवामी लिग नेतृत्वको गठबन्धनका सहयात्री हुन् । यस्तोमा वर्तमान प्रधानमन्त्री शेख हसिनाको लगातार चौथो जित हासिल गर्नु औपचारिकता मात्र मानिएको छ ।

प्रधानमन्त्री हसिना पछिल्लो केही वर्षमा तीव्र गतिमा निरंकुश भएको विपक्षीको आरोप छ । बीएनपीका नेता अब्दुल मोइन खानले बीबीसीसँग भनेका छन्, ‘बंगलादेशमा लोकतन्त्र मरिसक्यो । हामीले जे देख्दैछौं, त्यो फर्जी चुनाव हो ।’

हसिना सरकारले भने अलोकतान्त्रिक भएको आरोपलाई अस्वीकार गर्दै आएको छ र बंगलादेशले अनपेक्षित आर्थिक सफलता हात पारेको छ, त्यसले प्रधानमन्त्री हसिनाको स्वीकारोक्ति बढेको छ । मुस्लिम बहुल बंगलादेश एक समयसम्म विश्वकै सबभन्दा गरिब देशमध्ये एक थियो । तर सन् २००९ पछि ऐतिहासिक आर्थिक प्रगति हासिल गरेको छ ।

प्रतिव्यक्ति आय पछिल्लो दशकमा तीन गुणा भएको छ । विश्व बैंकको अनुमान छ कि पछिल्लो २० वर्षमा साढे २ करोडभन्दा बढी मानिस गरिबीको रेखाबाट माथि आएका छन् ।

गंगा नदीमा २.९ अर्ब डलरको पुल बनेको छ, जसले बंगलादेशको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) मा १.२३ प्रतिशत बढोत्तरी हुने अनुमान छ । ढाकामा मेट्रो लगायतका पूर्वाधार विकासका परियोजनाका लागि आर्थिक सहयोग जुटाउन दुई शक्तिशाली छिमेकी चीन र भारतसँग सन्तुलित सबन्ध बनाएकी छन् ।

यद्यपि महामारीका क्रममा बंगलादेशमा संकट पनि थियो । नोभेम्बरमा महंगीको दर ९.५ प्रतिशत पुगेको थियो । विदेशी मुद्रा सञ्चितीमा भारी गिराबट आयो । अगष्ट २०२१ मा ४८ अर्ब डलर रहेको यो अहिले २० अर्ब डलरमा झरेको छ । यसले तीन महिनाको आयात पनि धान्दैन ।

हसिना सरकारका आलोचकहरुका अनुसार आर्थिक प्रगति लोकतन्त्र र मानवअधिकारको मुल्यमा आएको हो । हसिनाको कार्यकालमा राजनीतिक विरोधी, समीक्षक र मिडियामाथि दमन भएको छ । थुप्रै विपक्षी नेताहरु पक्राउ परेका छन् ।

अब्दुल मोइन खान थोरै नेतामा पर्छन्, जसलाई पक्राउ गरिएको थिएन । उनको आरोप छ कि बीएनपीका २० हजार भन्दा बढी समर्थकलाई झुटो आरोपमा गिरफ्तार गरिएको छ । लाखौं पार्टी कार्यकर्ताविरुद्ध मुद्दा हालिएको छ । - रासस

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal