काठमाडौं- सम्पूर्ण बौद्ध धर्मलम्बीहरुले भोट चन्द्र पात्रो अनुुसार चौंथो महिनामा साखा दावा मनाउने परम्परा छ । खेन्पो ङावाङ् होसेर भन्नु हुन्छ “शाखा दावा भनेको बैशाख महिनाको नाम हो, विशाखा नक्षत्रको महिना परेकोले बैशाख भनेको हो, भोट भाषामा (वि) लाई छोडेर पढ्दा शाखा दावा भएको र शाखा दावा, बैशाख पूर्णिमा, बुद्ध पूर्णिमा र बुद्ध जयन्ति पर्छ तर अहिले जोतिष शास्त्र अनुसर यो महिना नोर्दा जेठ महिना हो ।” यस महिना भित्र नै भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त र देहावसान जस्ता तिन महान तिथिहरु पर्ने भएको हुनाले बौद्ध धर्मालम्बीहरुले यस महिनालाई त्रिसंयोग पुण्य पावन तिथिको रुपमा मान्ने प्रचलन पनि छ । जेठ महिना भरी सम्पुर्ण गुम्बा चैत्य र बौद्ध स्वयम्भू लगायतक बौद्ध तीर्थस्थलमा भक्तजनको ठूलो भीड लाग्ने गर्छ ।
साकादावा केवल एउटा चाड मात्र होइन, यो बुद्ध वाणी अनुसार आत्मशुद्धि, करुणा,अहिंसा र सत्कर्मको अभ्यास गर्ने एक अवसर पनि हो । यस समयमा बौद्ध धर्मालम्वीहरुले पूजा, पाठ र ध्यान गर्ने,गुम्बा तथा चैत्यमा दीप प्रज्वलन गर्दै परिक्रमा गर्ने,गरीब तथा असहायलाई दान दिने,जीवजन्तुको हत्या नगर्ने,मदिरा तथा खराब बानी त्याग्ने, सत्य र नैतिकताको बाटो अपनाउने, मांशाहारी खाने कुरा बार्ने आदि कार्य गर्छन् ।
साका दावाको विशेषता
साखा दावामा भगवान गौतबुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण गर्नु भएको दिन भएकोले उहाँको सम्झनामा र उहाँले दिएको धार्मीक पथ लाई अझ बढी महत्वका साथ अनुसरण गर्नु यो पर्वको विशेषता रहेको छ । साका दावा महिनामा गरिएको राम्रो कर्मको फल लाखौँ गुणा बढ्ने विश्वास गरिन्छ । त्यसैले मानिसहरू दान, पूजा, ध्यान र सेवा कार्यमा सहभागी हुन्छन् । साखा दावामा अहिंसा र करुणाको अभ्यास,जीव हत्या नगर्ने, मासु नखाने, दया र करुणा फैलाउने परम्परा विशेष रूपमा पालन गरिन्छ । प्रार्थना र धार्मिक अनुष्ठान, गुम्बा तथा स्तूपाहरूमा दीप प्रज्वलन, मन्त्र पाठ, पूजा र परिक्रमा गरी दान र सेवा गरिब, बिरामी तथा आवश्यक परेकालाई गर्ने चलन रहेको छ । बौद्ध धर्मालम्बीहरु यसलाई पुण्य कार्य मान्ने गर्दछ । साखा दावालाई आत्मिक शुद्धि मनलाई शान्त बनाउने, लोभ–क्रोध कम गर्ने र सकारात्मक सोच बढाउने समयका रूपमा लिइन्छ ।
साखा दावाले दिने संदेश
साखादावाले मानिसलाई मानवता, प्रेम, शान्ति र सह–अस्तित्वको शिक्षा दिन्छ । आजको समाजमा हिंसा, लोभ र घृणा बढिरहेको अवस्थामा शाखा दावाले करुणा र सहिष्णुताको मार्ग निर्देश गर्छ। मानिसलाई असल कर्म गर्न प्रेरित गर्नु, जीवप्रति दया र अहिंसाको भावना फैलाउनु, समाजमा शान्ति र सद्भाव कायम गर्नु, आध्यात्मिक चेतना जागृत गराउने संदेश दिन्छ । साकादावाले भौतिक सुखको पछि दौडिरहेका आधुनीक समाजलाई मानसिक शान्ति र साँचो खुशी धनमा होइन, असल व्यवहार, करुणा र मानव सेवामा हुन्छ भन्ने सन्देश दिन्छ ।