मुख स्वस्थ भने जीवन स्वस्थ : खुशी र स्वास्थ्यको ढोका मुखबाटै खुल्छ — डा. सुभाष घिमिरे

nepalnewsline.com


राजन थापा

काठमाडौं / मुख शरीरको द्वार हो, र द्वार नै अस्वस्थ भए शरीर स्वस्थ रहन सक्दैन”—यो धारणा हो मुख तथा अनुहार शल्य चिकित्सक डा। सुभाष घिमिरे को, जसले मुख स्वास्थ्यलाई समग्र जीवनशैलीसँग गहिरो रूपमा जोडेर हेर्ने आग्रह गरेका छन्।

विश्व मुख स्वास्थ्य दिवस तथा अन्तर्राष्ट्रिय खुशी दिवसको अवसरमा शुक्रबार खबर जेन डट कमसँग गरिएको कुराकानीमा उनले स्पष्ट शब्दमा भने, “दाँत ब्रश गर्नु राम्रो बानी हो, तर केवल त्यतिले मात्र स्वास्थ्य जोगिँदैन। हामी के खान्छौं, कसरी बाँचिरहेका छौं, कति सकारात्मक छौं—त्यसैले हाम्रो मुख र शरीरको अवस्था निर्धारण गर्छ।”

उनका अनुसार आजको व्यस्त जीवनशैलीमा मानिसहरू मुख स्वास्थ्यलाई सामान्य विषय ठानेर बेवास्ता गर्ने गर्छन्, जसले दीर्घकालीन रूपमा गम्भीर समस्या निम्त्याउन सक्छ। “गुलियो, प्रशोधित र रसायनयुक्त खानाले मुखमा मात्र होइन, पुरै शरीरमा असर गर्छ,” उनले भने, “स्वास्थ्य बिग्रिनु अघि नै हामी सचेत हुनुपर्छ।”

ॐ समाज डेन्टल अस्पताल का अध्यक्षसमेत रहेका डा। घिमिरेले मुख स्वास्थ्य जोगाउन चार आधारभूत स्तम्भ प्रस्तुत गरे—योग, सन्तुलित आहार, सकारात्मक सोच र नियमित सरसफाइ। “यी चार कुरा जीवनमा अपनाउन सके धेरै रोग स्वतः टाढा रहन्छन्,” उनले जोड दिए।

उनले शरीरको प्राकृतिक क्षमतामाथि विश्वास गर्नुपर्ने धारणा पनि व्यक्त गरे। “शरीर आफैंमा औषधि हो,” उनले भने, “हामीले जीवनशैली सुधार्यौं भने औषधिको आवश्यकता नै कम पर्छ। औषधिले रोग दबाउँछ, तर जीवनशैलीले रोग हटाउँछ।”

डा। घिमिरेले प्राकृतिक आहारको महत्व बुझाउन रोचक उदाहरण प्रस्तुत गर्दै भने, “जंगलमा बस्ने जनावरहरू, जस्तै बाघ, प्राकृतिक खाना खान्छन्, त्यसैले उनीहरूलाई दाँत ब्रश गर्नुपर्ने अवस्था नै आउँदैन। यसले देखाउँछ—प्राकृतिक खानपान नै वास्तविक सुरक्षा हो।”

उनका अनुसार मुख स्वास्थ्य र पाचन प्रणालीबीच गहिरो सम्बन्ध छ। “गेट साफ भयो भने पेट साफ हुन्छ, पेट साफ भयो भने रोग पनि साफ हुन्छ,” उनले भने, “त्यसैले मुखलाई प्राथमिकतामा राख्नु आवश्यक छ।”

खुशी दिवसको सन्दर्भमा उनले स्वास्थ्यलाई खुशीको आधारका रूपमा व्याख्या गर्दै भने, “मानिसको साँचो खुशी स्वास्थ्यमै लुकेको हुन्छ। जब शरीर स्वस्थ हुन्छ, तब मन स्वतः प्रसन्न हुन्छ।”

अन्त्यमा उनले सबैलाई सन्देश दिँदै भने, “आजैबाट सानो परिवर्तन सुरु गरौं—स्वस्थ खाना, नियमित हेरचाह र सकारात्मक सोच। मुख स्वस्थ राखौं, जीवनलाई खुशी बनाऔं।”

उनले सम्पूर्ण नेपालीमा स्वास्थ्यप्रति सचेतना बढोस् भन्ने कामना गर्दै विश्व मुख स्वास्थ्य दिवस तथा अन्तर्राष्ट्रिय खुशी दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया