काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध रहेको मोन्ट्रियल टाइगर्सले ग्लोबल टी-ट्वान्टी क्यानडामा टोरोन्टो नेशनललाई हराउदै शीर्ष स्थानमा उक्लिएको छ ।
ओन्टारियोमा भएको खेलमा नेशनल डीएल पद्धतिको आधारमा २३ रनले पराजित भएको हो । वर्षाको कारण खेल प्रभावित हुँदै ६–६ ओभरको मात्रै भएको थियो ।
दीपेन्द्रले प्लेइङ-११ मा स्थान बनाए पनि बलिङ र ब्याटिङ दुबै गर्ने अवसर पाएनन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको टाईगर्सले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै ७७ रन बनायो ।
टाईगर्सका लागि ओपनर तथा कप्तान क्रिस लिनले १८ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा अविजित रहे । अर्का ओपनर मोहम्मद वासिमले १३ बलमा १ चौका र २ छक्कासहित २४ रन बनाएका थिए ।
टाईगर्सले दिएको ७८ रनको लक्ष्य पछ्याएको टोरोन्टोले ६ ओभरमा २ विकेट गुमाउँदै ५४ रन बनायो ।
जेजे स्मितले १६ रन बनाउँदा ड्यारेन ब्राभो १५ रन बनाए ।
टाईगर्स ६ खेलमा ४ मा जित र १ मा हारसहित ९ अंकका साथ शीर्ष स्थानमा छ । प्लेअफमा पनि स्थान बनाएको छ ।
टोरोन्टो भने ६ खेलमा २ जितका साथ चौथो स्थानमा रहेको छ ।
प्रतिक्रिया