(Saturday , 18 May,2024)

भरतपुर महानगरमा राष्ट्रिय परिचयपत्र वितरण हुँदै

NepalNewsLine

NepalNewsLine

Image 1

भरतपुर । भरतपुर महानगरपालिकामा आज मंगलबारदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने भएको छ । महानगरका एक नम्बरदेखि १२ नं वडामा एकसाथ राष्ट्रिय परिचयपत्र वितरण हुनेछ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमाडौँले सोमबार भरतपुर महानगरमा अभिमुखीकरण कार्यक्रम आयोजना गरी सम्बन्धित वडाहरुलाई राष्ट्रिय परिचयपत्र वितरण गर्न निर्देशन दिएको हो । अभिमुखीकरण कार्यक्रममा एक नं वडादेखि १२ नम्बर वडासम्मका वडाध्यक्ष तथा सचिवहरुको सहभागिता रहेको थियो ।

विभागले तीव्र गतिमा सम्पूर्ण प्रक्रिया पूरा गरी परिचयपत्र वितरण गर्न निर्देशन दिएको थियो । परिचयपत्र वितरण गर्नका लागि विभागका कर्मचारीहरु वडा कार्यालयसम्म पुग्नेछन् । अभिमुखीकरण कार्यक्रममा बिहान १० बजेदेखि परिचयपत्र वितरण हुने बताइएको छ ।

अभिमुखीकरण कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरका सबै नागरिकका हात–हातमा राष्ट्रिय परिचयपत्र वितरण गरिने बताए ।

कार्यक्रममा उनले भने, ‘महानगरका सबै वडाहरुमा राष्ट्रिय परिचयपत्र वितरण गरिने छ, पहिलो चरणमा एकदेखि १२ नं वडामा वितरणको कार्यक्रम चल्नेछ ।’ उनले महानगरका वडावासीलाई राष्ट्रिय परिचयपत्र लिन अनुरोध गरे ।

कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, सामान्य प्रशासन महाशाखा प्रमुख उपेन्द्रराज पौड्याल, शाखा अधिकृत मधुराम दवाडीलगायतले परिचयपत्र वितरणलाई प्रभावकारी बनाउने बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal