(Friday , 01 November,2024)

 गालेपछि फेरि घट्यो तौल, कति भयो सुनको वास्तविक तौल?

NepalNewsLine

NepalNewsLine

काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकले गालेको छ । गालेपछिको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको राष्ट्र बैंकका एक अधिकृतले  बताए ।

साउन ३ मा राजस्वले सुन बरामद गरेर गाल्न र तौल लिने प्रयोजनका लागि राष्ट्र बैंकको टक्सार महाशाखालाई जिम्मा लगाएको थियो । राष्ट्र बैङ्कले केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूलाई रोहबरमा राखेर मंगलबार सुनको वास्तविक तौल सार्वजनिक गरेको हो ।

टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यका अनुसार सोमबार ब्रेक प्याडबाट अलग गर्दा सुनको तौल ६० किलो ७८९ ग्राम भएको थियो । त्यसपछि बाल्दा परिमाण केही ग्राम घटेर वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको हो । 

सोमबारदेखि राष्ट्र बैंकले सुन ब्रेक प्याडबाट अलग गर्ने र गाल्ने प्रक्रिया सुरु गरेको थियो ।

असार ३० मा हङकङकबाट क्याथे प्यासिफिकको उडानमार्फत आएको सुन ‘रेडी ट्रेड प्रालि’ले मगाएको खुलेको थियो  । १६० वटा ‘ब्रेक प्याड’ मा छिपाएर सुन काठमाडौँ ल्याइएको थियो । सुन सहितको ब्रेक प्याडको तौल १५५ किलो थियो । 

सुन तस्करीमा संलग्न आशङ्कामा हाल १७ जना हिरासतमा छन् । केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ले सङ्गठित तस्करी विरुद्धको कसुरमा आरोपितहरू विरुद्ध अनुसन्धान गरिरहेको छ ।

तस्करीमा तिब्बत मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन र तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङको मुख्य भूमिका देखिएको अनुसन्धानमा संलग्न ब्युरोका अधिकारीहरू बताउँछन् ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज अधिकारीले बरामद गर्दा सुन करिब ८० देखी १०० किलो रहेको दाबी गरेका थिए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal