अमेरिकी डलर अहिलेसम्मकै उच्च

काठमाण्डौ  अमेरिकी डलर अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा र खरिदर एक सय ३७ रुपैयाँ २५ पैसा रहेको छ ।

डलर लगातार बलियो बनिरहँदा नेपाली मुद्रा (नेरु) अहिलेसम्मकै कमजोर बनेको छ । विशेषगरी डलरको भाउमा आएको उतारचढावले भारतीय मुद्रा (भारु) प्रत्यक्ष प्रभावित हुन्छ । त्यसको असरले नेपाली मुद्रा बलियो वा कमजोर हुने गरेको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ ।

नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि प्रभावित हुन्छ । डलर बलियो बन्दा नेपाललाई लाभ पनि हुन्छ ।

सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन् । डलरको भाउ बढ्दा विशेषगरी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा असर पर्छ ।

आज धेरैजसो विदेशी मुद्राको भाउमा बढेको छ । विनिमयदरअनुसार, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, यूएई दिराम, मलेसियन रिङ्गेट, स्वीडिस क्रोनर,डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य बढेको छ ।

प्रतिक्रिया