(Friday , 10 May,2024)

बिदेश जाने लहर चलिरहेको बेला काठमाडौँ विश्वविद्यालयमा विद्यार्थी बढे

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घटिरहेको छ । विशेषगरी त्रिभुवन विश्वविद्यालयमा यो समस्या दिनप्रति बढ्दै गइरहेको बताइन्छ । तर, काठमाडौँ विश्वविद्यालयले भने पछिल्लो तथ्यांक अनुसार विद्यार्थी सङ्ख्या बढिरहेको जनाएको छ । दुई वर्ष अघिको तुलनामा विश्वविद्यालयमा १७ प्रतिशतले विद्यार्थी बढेका हुन् । 

काठमाडौँ विश्वविद्यालयको सातै वटै स्कुलमा विद्यार्थी बढेको देखिएको हो । विश्वविद्यालयमा क्षमताको ८७ प्रतिशत विद्यार्थी भर्ना भएको विश्वविद्यालयले जनाएको छ । 

दुई वर्षअघिको भन्दा १७ प्रतिशत बढी हो भने अघिल्लो वर्षभन्दा १५ प्रतिशतले बढी हो । विश्वविद्यालयले हरेक वर्ष विद्यार्थी भर्ना क्षमता समेत बढाउँदै लगेको छ । सोही आधारमा विद्यार्थी समेत बढ्दै गएको काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेसनका डीन प्राडा बालचन्द्र लुइँटेलले बताए । 

भर्ना वर्ष २०२१/०२२ मा कुल क्षमताको ७० प्रतिशत विद्यार्थी भर्ना भएका थिए । भने २०२२/२०२३ मा क्षमताको ७२ प्रतिशत विद्यार्थी भर्ना भएका थिए । सन् २०२३/२०२४ का लागि कुल क्षमताको ८७ प्रतिशत विद्यार्थी भर्ना भएका हुन् । 

जसमा सबैभन्दा बढी कानुन तर्फ शतप्रतिशत भर्ना भएका छन् । त्यस्तै एजुकेसन तर्फ ९२ प्रतिशत, मेडिकल साइन्सतर्फ ९१ प्रतिशत, इन्जिनियरिङ तर्फ ८८ प्रतिशत, साइन्सतर्फ ८७ प्रतिशत, म्यानेजमेन्टतर्फ ७९ प्रतिशत र आर्ट तर्फ ७३ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । 

यो वर्ष ६ हजार १८६ विद्यार्थीको सिट क्षमता थियो । जसमा ६ हजारको हाराहारीमा विद्यार्थीहरू भर्ना भएका हुन् । १८ हजार बढी विद्यार्थी अध्ययन गरिरहेको विश्वविद्यालयमा ५०० बढीले छात्रवृत्ति पाएका छन् । दुई सय भन्दा बढी शैक्षिक कार्यक्रम रहेको विश्वविद्यालयमा सबैभन्दा बढी कानुन सङ्कायमा विद्यार्थीको आकर्षण देखिएको छ ।  

अन्य विश्वविद्यालयमा विद्यार्थी घटिरहेको बेला काठमाडौँ विश्वविद्यालयमा विद्यार्थी सङ्ख्या बढ्नुको थुप्रै कारण छन् । डीन लुइँटेलले विद्यार्थीलाई सेवाग्राही मानेर सेवा दिने गरेको बताए । बजारको माग अनुसार शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने र सोही आधारमा विद्यार्थीहरूलाई पढाउँदै गर्दा विद्यार्थीहरूको आकर्षण देखिएको उनको भनाइछ । 

सबैभन्दा महत्त्वपूर्ण कुरा समयमै विद्यार्थी भर्ना, समयमै पढाई, समयमै परीक्षा तथा समयमै नतिजा प्रकाशन गर्नुपर्ने उनको भनाइ छ । काठमाडौँ विश्वविद्यालयले सोही आधारमा शैक्षिक क्यालेन्डर बनाएर लागू गर्दै आएको बताए । 

‘सेमेस्टर सिस्टममा लैजाँदा ६ महिनाभित्रमा सबै सकिनुपर्छ भन्ने हो । ६ महिनाभित्रै पढाई, परीक्षा तथा नतिजा समेत सकिनुपर्छ’, उनले भने । अर्को कुरा भनेको विश्वविद्यालयले नयाँ नयाँ कोर्सहरूमा समेत पठनपाठन गर्दै आएको छ  । विश्वविद्यालयले विद्यार्थीलाई पढाउने मात्रै नभई समुदायमा नजिक भएर काम गराउने समेत गरेको उनको भनाइ छ । 

विश्वविद्यालयले फाइनान्सिङ अडिट गरेजस्तै प्राज्ञिक अडिट समेत गर्दै आएको छ । कसले कस्तो पढाइहेका छन् भन्ने विद्यार्थीसँग प्रतिक्रिया लिने, कमजोरीको खोजी गर्ने सिस्टम बनाएर सुधारको प्रयास गर्ने गरिएको उनको भनाइ छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal