(Saturday , 23 November,2024)

लखनउलाई हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा

author

Anonymous

Image 1

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेटको बुधबार राति भएको इलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्ट्सलाई ८१ रनको फराकिलो अन्तरले हराएको छ ।


जितसँगै मुम्बई प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । लखनउ भने उपाधि होडबाट बाहिरिएको छ । अब मुम्बईले प्रतियोगिताको दोस्रो क्यालिफायरमा गुजरात टाइटन्सको सामना गर्नेछ । उक्त खेलमा विजयी हुने टोलीले चेन्नई सुपर किङ्ससँग उपाधिका लागि भिडन्त गर्नेछ ।

टस जिती पहिलो ब्याटिङको निर्णय लिएको मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको लखनउले भने १६.३ ओभरमै अलआउट हुनुअघि १ सय १ रनमात्र बनाउन सक्यो ।

मुम्बईको जितमा आकाश मधवाल नायक बने । लखनउलाई विजयलक्ष्यसम्म पुग्न नदिन उनी एक्लैले ५ विकेट लिए । माधवालले ३.३ ओभर बलिङ गर्दै केवल ५ रन खर्चिए । उनी म्यान अफ दि म्याच पनि घोषित भए ।

पियुष चावला र क्रिस जोर्डनले पनि १-१ विकेट हात पारे । लखनउका लागि मार्कुस स्टोइनिसले सर्वाधिक ४० रन बनाए । ओपनर काइली मायर्सले १८ र दिपक हुदाले १५ रन जोडे । लखनउका अन्य ब्याट्सम्यानले दोहोरो सँख्यामा रन बनाउन सकेनन् ।

त्यसअघि मुम्बईका लागि क्यामरुन ग्रिनले ४१ रन बनाएका थिए । सूर्यकुमार यादबले पनि ३३ रन बटुले । तिलक बर्माले २६ र नेहाल बधेराले २३ रन जोडे । ओपनर इशान किसनले पनि टोलीको खातामा १५ रन थपे । लखनउका बलर नविन उल हकले ४ र यश ठाकुरले ३ विकेट लिए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal