(Monday , 13 May,2024)

इजरायली सेनाले आक्रमणको चेतावनी दिएपछि भागाभाग

NepalNewsLine

NepalNewsLine

Image 1

गाजापटी - इजरायल र हमासबीचको युद्धका कारण इजरायलको सेनाले दुई हजारभन्दा बढी बिरामी, चिकित्सक र विस्थापित व्यक्ति रहेको अस्पताल खाली गर्न आदेश दिएपछि शनिबार सयौं मानिस पैदलै भागेका गाजाको मुख्य अस्पतालका निर्देशकले बताएका छन् ।

अल–शिफा अस्पताल वरपर ठूलो विस्फोटनको आवाज सुनिएपछि विस्थापित व्यक्ति, चिकित्सक, नर्स र बिरामी तथा घाइतेहरू एम्बुलेन्सबिना नै समुन्द्री किनारतर्फ जाँदै गरेको देखिएको थियो ।

प्रत्यक्षदर्शी एएफपीका एक पत्रकारले भाग्दै गर्दा बाटोमा इजरायली ड्रोनको आवाज सुनिएको र नराम्ररी क्षतिग्रस्त पसलहरू र पल्टिएका सवारी साधनहरूको छेउछाउमा कम्तीमा १५ वटा शवहरू देखेको पुष्टि गरे । 

हमास प्रभावित रहेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले १२० जना घाइते र केही समय नपुग्दै जन्मेका शिशु अझै पनि शिफा अस्पतालमा रहेको जनाएको छ । हमासको अपरेशन सेन्टरको खोजी गरिरहेको इजरायलले अस्पतालभित्र सैन्य कारबाही गर्न दबाब दिइरहेको छ । 

इजरायलले अक्टोबर ७ मा करिब एक हजार ४०० जनाको ज्यान लिने गरी हमासले इजरायली क्षेत्रमा गरेको आक्रमणपछि हमासलाई ध्वस्त पार्ने भन्दै प्यालेष्टिनी क्षेत्रमा व्यापक हवाई आक्रमण गरिरहेको छ ।

मारिएकामध्ये अधिकांश दक्षिणी इजरायलका नागरिकहरू थिए भने केही पढ्न वा कामको शिलशिलामा विदेशबाट इजरायलमा बस्दै आएका विदेशी रहेका थिए । हमासले गरेको आक्रमणपछि कम्तीमा २४० मानिसहरूलाई बन्धक बनाएको थियो ।

सन् २००७ देखि गाजामा शासन गर्दै आएको हमास सरकारका अनुसार इजरायली सेनाको निरन्तर हवाई र स्थल कारबाहीले पाँच हजार बालबालिकासहित १२ हजार मानिसको ज्यान लिइसकेको छ ।

गाजा शहरमा शनिबार बिहान इजरायली सेनाले लाउडस्पिकरमार्फत अल–शिफा अस्पताल ‘अर्को एक घण्टाभित्र’ खाली गर्न आदेश दिएको घटनास्थलमा रहेका एएफपीका एक पत्रकारले बताए ।

उनीहरूले अस्पतालका निर्देशक मोहम्मद अबु सालमियालाई फोन गरेर बिरामी, घाइते, विस्थापित र स्वास्थ्यकर्मीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूलाई समुन्द्री किनारतर्फ जान आग्रह गरेका थिए ।

इजरायली सेनाले शिफा अस्पतालका निर्देशकको अनुरोधलाई स्वीकार गर्दै अस्पतालमा रहेका र त्यहाँबाट बाहिर जान चाहने थप गाजावासीलाई उद्धार गर्न अनुमति दिएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार इजरायली सेना अल–शिफामा प्रवेश गर्नुअघि दुई हजार ३०० बिरामी, कर्मचारी र विस्थापित प्यालेस्टिनीहरू अल–शिफामा आश्रय लिइरहेका थिए । - एजेन्सी

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal