दुई अध्यक्षबारे ओलीले भने, ‘टेम्पु चलाए जस्तो होइन, जहाजमा दुई पाइलट हुन्छन्’

0
256

एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीमा सह-अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सामूहिक नेतृत्वप्रति कतिपयले प्रश्न उठाएको भन्दै यसलाई जेट (विमान)सँग तुलना गरेका छन् ।

उनले ठूलो पार्टी चलाउनु जहाज उडाउनु जत्तिकै भएको टिप्पणी गरेका हुन्। राष्ट्रिय सभागृहमा पार्टी एकीकरण घोषणा सभामा बोल्दै उनले भने, ‘टेम्पु चलाए जस्तो होइन, जहाजमा दुई पाइलट हुन्छन्।’ पार्टी एकीकरणपछि नयाँ पार्टीमा ओली र प्रचण्ड अध्यक्ष रहने छन्।

पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै ओलीले दुई पार्टी मिसिएको नभई घोलिएको बताए। हाइड्रोजन र अक्सिजन मिलेर पानी बने जस्तै गरी पार्टी एकीकरण भएकाले अब दुई पार्टी छुट्टिन नसक्ने ओलीले बताए।

कार्यक्रममा उनले कम्युनिष्ट पार्टीका लागि दुई तिहाइ बहुमत सामान्य भइसकेको बताएउदै आगामी चुनावमा आफूहरुको पार्टीले तीन चौथाइ मत ल्याउने दाबी समेत गरे।

एमालेबाट स्थायी कमिटीमा रहनेहरुको नामावली :
एमालेको तर्फबाट १. केपी शर्मा ओली २. झलनाथ खनाल ३. माधवकुमार नेपाल ४. बामदेब गौतम ५. सुवासचन्द्र नेम्बाङ ६. भीम रावल ७. युवराज ज्ञवाली ८. अष्टलक्ष्मी शाक्य ९. इश्वर पोखरेल १०. बिष्णु पौडेल ११. घनश्याम भुसाल १२. प्रदिप ज्ञवाली १३. भीम आचार्य १४. पृथ्वी सुब्बागुरुङ १५. अमृत बोहरा १६. गोकर्ण बिष्ट १७. योगेश भट्टराई १८. शङ्कर पोखरेल १९. मुकुन्द न्यैपाने २०. सुरेन्द्र पाण्डे २१. सत्यनारायण मण्डल २२. केशव बडाल २३. सोमनाथ अधिकारी प्यासी २४. किरण गुरुङ २५. छबीलाल बिश्वकर्मा

नेपाली जनताको इच्छा र चाहनाअनुसार एकताः अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता प्रक्रिया नेपाल राष्ट्र तथा नेपाली जनताको इच्छा र आवश्यकता सम्बोधन गर्ने सकारात्मक प्रयास भएको बताउनुभएको छ ।

नेकपाको एकता घोषणा समारोहका बारेमा जानकारी दिन आयोजना गरिएको विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले एकता प्रक्रिया देश र जनताको आर्थिक समृद्धि तथा विकासका लागि गरिएको सचेत पहल हो भन्नुभयो ।

अध्यक्ष दाहालले पार्टी एकताका लागि जनतासंग गरेको संकल्प र प्रतिबद्धता पूरा भएको बताउँदै अब नेपाली जनतालाई सुखी बनाउनु, देशलाई सुखी र समृद्ध बनाउनु तथा समाजिक न्यायसहितको आर्थिक समृद्धिबाट देशलाई अगाडि बढाउनु रहेको धारणा व्यक्त गर्नुभयो ।

“हामी जनताका सामु गरेको प्रतिबद्धताबाट विचलित हुने छैनाँै, अस्थरताको युग अन्त्य भयो, अब सुशासन र राजनीतिक स्थिरताको युग शुरु भयो”– उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले इतिहासमा धेरै कम्युनिस्ट पार्टीले संघर्षमा त्याग र बलिदान गरेको, क्रान्ति गरेको, पार्टी सरकारमा गएपछि भ्रष्ट, नैतिकहीन भएको स्मरण गर्दै नेपाली जनतालाई धोका नदिने, आर्दशबाट विचलित नभई, एक्काइसौँ शताब्दिको भावना र चाहनालाई बुझ्न सक्ने पार्टी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारका गएपछि स्खलित हुने प्रवृत्तिबाट सजग हुँदै जनताको पक्षमा काम गर्नुपर्ने र देशलाई नयाँ उचाइमा उठाएर जनताको सेवामा लागिपर्ने उल्लेख गर्दै उहाँले कम्युनिस्ट पार्टीभित्र हुर्कन थालेको अराजकता र अस्थिरतालाई निमिट्यान्न पार्नुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष दाहालले आगामी दिन चुनौतीपूर्ण रहेको बताउँदै नेपाली जनताको चाहनालाई नै आत्मसात् गरेर अगाडि बढिने स्पष्ट पार्नुभयो । आफूले विगतदेखि नै क्रमभंग र गुणात्मक काम गर्दै आएको उल्लेख गर्दै उहाँले एकता प्रक्रिया महान् छलाङको अर्को रुप हो भन्नुभयो ।

अध्यक्ष दाहालले अक्सिजन र हाइड्रोजन मिलेर पानी बने जस्तै एमाले र माओवादी केन्द्र मिलेर नयाँ कम्युनिस्ट पार्टी बनेको बताउँदै राष्ट्रिय स्वाधिनता, एकता, आत्मसम्मान, नेपाली भएर बाँच्ने प्रक्रियालाई एकता प्रक्रियाले नयाँ आधार तयार पारेको धारणा व्यक्त गर्नुभयो ।

जेठ ३ गते नै पार्टी एकताको घोषणा गराँै भनेर आफूले नै प्रस्ताव गरेको बताउँदै उहाँले विसं २००६ मा गठन भएको नेपाल कम्युनिस्ट पार्टी २०१९ सालेदेखि भोगको विभाजनको शृङ्खलाबाट आज नयाँ युगमा प्रवेश गरेको छ भन्नुभयो ।

अध्यक्ष दाहालले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा लैजान, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने, नेपालबाट विकास र स्थिरताका सन्देश दिने दृष्टिकोणबाट यो एकता तर्कपूर्ण र बहुआयामिक रहेको उल्लेख गर्दै देशले राजनीतिक अराजकता, अस्थिरता सहन सक्दैन, राजनीतिक अस्थिरता कायम राखियो भने त्यसले हामी सबैलाई पिरोल्छ भनेर एकता प्रक्रिया शुरु गरिएको बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here