हरिवंशको बिर्सन लायक फिल्म: फिल्ममा हरिवंशको पैसा असुल्ने योजनाबाहेक अर्को लक्ष्य देखिएन।

0
137

दर्शक हाँस्छन्, हँसाउनुपर्छ । बजारमा चल्छ, चलाउनुपर्छ । फिल्म हेरेपछि लाग्यो, ‘शत्रु गते’ पनि यस्तै मनोभावको उत्पादन हो ।

फिल्ममा दीपकराज गिरी–दिपाश्री निरौलाको प्रवेशले कतै यो फिल्मपनि ‘छक्कापञ्जा’ शृंखलाकै निरन्तरता त होइन भन्ने अनुमान त पहिल्यै थियो ।

तापनि यस फिल्मलाई ‘जात्रा’जस्तो सफल फिल्म निर्देशन गरेर आफ्नो कलात्मक छवि देखाइसकेका निर्देशक प्रदीप भट्टराईले निर्देशन गरिरहेका थिए । त्यसैले फिल्म अलि फरक नै बन्ला भन्ने आशा पनि थियो ।

त्यसमाथि हास्यव्यंग्य तथा अभिनयका ‘ब्रान्ड’ महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको कमब्याक फिल्म भएकाले यो फिल्मबाट झन बढी अपेक्षा त हुने नै भयो ।

‘जात्रा’का निर्देशकले बनाएको अर्थात् महजोडीको फिल्म भन्दै यस्तै आशा र अपेक्षा बोकेर फिल्म हेर्न हल जाँदै हुनुहुन्छ भने एकचोटी पुनर्विचार गरे उत्तम ।

निर्देशक र कलाकारको विगत हेरेर हलमा जानुभयो भने निराशा मात्र हात पर्छ । फिल्मले दर्शकको मुहारमा प्राकृतिक हाँसो ल्याउन सक्दैन । जबरजस्ती हास्य सिर्जना भने गर्छ । हल्का रमाइलो हुनसक्छ तर रमाइलो गराउनु र राम्रो हुनु फरक कुरा हुन्।

‘शत्रु गते’ एउटा कोलोनीबासीको कथा हो । कोलोनीमा दुई परिवार छ, एउटा सुरज (पल शाह) र अर्को सन्ध्या (आँचल शर्मा) । गहिरो प्रेममा रहेका सुरज र सन्ध्याको बिहे गराउन दुवै परिवार लगभग सहमत छ तर सुरजका बुबा गोपाल (हरिवंश आचार्य) भरसक बिहे नहोस् भन्ने चाहन्छन् । कारण– मधेशका नेता रहेका सन्ध्याका बुबा (रमेश रञ्जन झा)लाई उनी घुसखोरी ठान्छन्, रुचाउँदैनन् ।

दुवैका पिताबीच सम्बन्ध त्यति राम्रो छैन तापनि छोराछोरीको खुसीका अघि दुवै सम्बन्ध जोड्न तयार हुन्छन् । अचानक कोलोनीमा युट्युबर राहुल (दीपकराज गिरी) प्रवेश गर्छन् ।

उनको युट्युब धन्दाले दुवैको परिवारमा द्वन्द्व निम्त्याउने काम गर्छ । त्यसपछि सुरज र सन्ध्याको बिहे के हुन्छ ? फिल्म यी दुई परिवारको सम्बन्ध वरिपरि जेलिएको छ।

फिल्मको कथा सुरज–सन्ध्याको बिहे गराउने क्रममा उत्पन्न हुने तनाव र परिस्थिति वरिपरि घुमेको छ । स्मरण रहोस्, महजोडीले यसअघि यस्तै कथामा आधारित ‘पन्ध्र गते’ टेलिफिल्म बनाएका थिए, जहाँ बिहेकै तनावको कथा थियो । ‘१५ गते’को कथा सापटी लिए पनि गुणस्तरमा भने धेरै फरक छ ।

फिल्मलाई यदि कला र दृश्य भाषाको सशक्त माध्यम मान्ने हो भने यसमा निर्देशक भट्टराई नराम्ररी चुकेका छन् । फिल्ममा दृश्यभन्दा बढी संवाद र कलाकारको भीड छ । तीन पुस्ताका कलाकारको जमघट छ । फिल्ममा मह जोडीदेखि दीपक–दिपाहुँदै पल–आँचलसम्मका कलाकार छन्।

फिल्ममा अनुप्रास मिलेका संवादमार्फत् दर्शक हँसाउने प्रयास जोडदार छ । यसबाहेक नयाँ केही छैन । परिवार र प्रेमसँग जोडिएका यस्ता कथा सयौंपल्ट बनेका छन् । प्रस्तुतिमा कुनै नयाँपन भेटिँदैन ।

फिल्मको पटकथा निर्देशक भट्टराई र दीपकराज गिरी मिलेर लेखेको बताइएको छ तर फिल्मको बगाई हेर्दा थाहा हुन्छ– दीपक बढी नै हावी छन् ।

जसले ‘जात्रा’बनायो, उसैले ‘शत्रु गते’ बनाएको हो र ? ‘जात्रा’ हेरेका दर्शक ‘शत्रु गते’ हेरिसकेपछि ‘कन्फ्युज’ हुन सक्छन् । अपेक्षा पूरा हुँदै हुन्न । ‘शत्रु गते’लाई लिएर यसका निर्देशक रमाउनु भनेको उनका लागि ‘जात्रा’ बाट बढेको आफ्नो कद घटाउनु मात्र हो ।

फिल्ममा हरिवंशको पैसा असुल्ने योजनाबाहेक अर्को लक्ष्य देखिएन। अभिनय कलाको उत्तराद्र्धमा यस्तो बिर्सन योग्य फिल्म दिनु हरिवंशका लागि दुर्भाग्य हो । यद्यपि अभिनयका हिसाबले यो फिल्ममा सबैभन्दा बढी नजरमा कोही पर्छन् भने त्यो उनी नै हुन् ।

उनको गेटअप, लवज, हाउभाउले दर्शकको ध्यान खिच्छ। उनकाे कमिक टाइमिङलाई दर्शकले रुचाउँछन् तर फिल्म एक कलाकारको अभिनयले मात्र बलियो हुन सक्दैन, सायद उनले भन्दा बढी यो कुरा कसले बुझेको होला ?

हास्यरसमै आधारित भएर पनि उनले बेजोड सिनेमा बनाउन सक्थे । बलिउडमै राजकुमार हिरानीले बनाएका ‘पिके’ र ‘मुन्नाभाइ एमबीबीएस’, उमेश शुक्लाको ‘ओएमजी’ आदि फिल्म उनका लागि बलियो उदाहरण छँदैथिए।

अक्षय कुमारका पछिल्ला दुई फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ र ‘प्याडम्यान’ दुवै बलिया सन्देशसहित दर्शकमाझ आएका हास्यरसयुक्त फिल्म थिए । तिनले दर्शकलाई हँसाएनन् मात्र, सन्देश पनि रमाइलो गराउँदै दिए ।

‘शुत्रु गते’मा मदनकृष्णको उपस्थितिको कारण खुल्दैन। प्रियंका कार्की र आँचल शर्माको चरित्र चित्रण स्वभाविक लाग्दैन । थुप्रै दृश्य छन्, जो सस्ता र अविश्वसनीय लाग्छन्।

आफू स्टार बन्ने पथमा हिँडिरहेका अभिनेता पल शाहले यो फिल्ममार्फत् अभिनयमा फेरि आफूलाई कमजोर साबित गरेका छन् । उनको अभिनयमा कुनै आकर्षण छैन। न रुँदा स्वभाविक देखिन्छन्, न संवाद बोलिरहँदा ।

म्युजिक भिडियोबाट दर्शकको नजरमा परेका उनले म्युजिक भिडियोको मोडलिङ र फिल्मको अभिनय बीचको फरक छुट्ट्याउन सक्नुपर्छ । होइन भने उनको करिअर उँभो नलाग्ने पक्का छ। अभिनय भनेको ‘लुक्स’ मात्रै होइन, ‘एक्सप्रेसन’ र ‘डायलग डेलिभरी’को तालमेल पनि हो । यो कुरा पलले बुझ्न जरुरी छ।

फिल्मले पुलिस–गुन्डा प्रेम, मधेसी–पहाडे परिवारको सम्बन्ध लगायत विविध विषयमा हात त हालेको छ तर मोती हात नपार्ने गरी सतही मात्र छ । दीपकको अभिनयमा कुनै नौलोपन नभेटिए पनि उनको युट्युबरको चरित्र फिल्ममा नौलो लाग्छ ।

युट्युबमा दर्शक बढाएर पैसा कमाउनका लागि जे पनि खिचेर अपलोड गर्न तयार हुने जमातलाई उनको चरित्रमार्फत् गतिलो झापड हान्न खोजेका छन् । रमेशरञ्जन झा र दीपाश्रीको अभिनय चरित्रअनुसार स्वभाविक नै छ।

फिल्मका दुवै गीत ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ जति मिठासपुर्ण छन् त्यसको ‘प्लेसमेन्ट’ त्यति सान्दर्भिक लाग्दैन। ‘पिरतीको बर्को’ त फिल्ममा आवश्यकताबिनै देखापर्छ।

फिल्मको दरिलो पक्ष मानिने ब्याकग्राउन्ड स्कोर पनि लाउड लाग्छ, पटकथा र संवादसँग लय नमिलेको भान गराउँछ । यद्यपि फिल्मको खिचाई, लोकेसन लगायत प्राविधिक पक्ष राम्रै छन्।

समग्रमा यो फिल्मले कलाकारिताभन्दा बढी जोकरकारिता बढावा दिएको छ । फिल्मले व्यापार त गर्ला, दर्शकलाई हँसाउला पनि तर नेपाली फिल्मको स्तर उकास्न कुनै मद्दत गर्दैन । व्यापारिक सफलताकै आधारमा यस्ता फिल्म ‘सफल’ सूचीमा प¥यो भने यो नेपाली फिल्मकै दुर्भाग्य मात्रै हो।

‘एनी हाउ दर्शकलाई हसाऊ’ र ‘एनी हाउ पैसा कमाऊ’– यही फर्मुलामा रहेर दीपक–दीपाले फिल्म बनाइरहेका थिए। विडम्बना, उनीहरुको बिजनेसमा हरिवंश पनि मिसिए । ‘शत्रु गते’बाट हरिवंशले दीपक–दीपाको गुणस्तर उकास्ने धेरैको आशा थियो । यसमा उनी असफल भए । यता दीपक–दीपा सफल भए र हरिवंशलाई आफ्नो स्तरमा ओराले। नागरिक न्युज/ शुक्रबार साप्ताहिकबाट