व्यवसायीले बिन्ती गर्दै भने : प्लिज, हामीलाई सिन्डिकेटधारी नभन्दिनुस्

0
79

काठमाडौं, वैशाख ५ – २०५१ सालदेखि यातायात समिति बनाएर एकाधिकार अर्थात सिन्डिकेट जमाइरहेका यातायात व्यवसायीले सिन्डिकेट तोड्ने सरकारको निर्णयविरुद्ध आन्दोलनको घोषणा गरेका छन् ।

उनीहरुले चैत १८ गते यातायात व्यवस्था विभागले ल्याएको नयाँ निर्देशिका र कार्यविधि तथा मंगलबार मन्त्रिपरिषद्ले गरेको निर्णयमा आपत्ति जनाउँदै उनिहरुले गाडी ग्यारेजमा थन्काउनेसम्मका आन्दोलन घोषणा गरिसकेका छन् । सरकारले अब जिल्ला प्रशासन कार्यालयमा संस्थाको रुपमा नभई कम्पनीको रुपमा गाडी दर्ता गर्ने निर्णय गरेपछि वर्षाँैसम्मको सिन्डिकेट तोडिने डर उनिहरुलाई छ ।

यातायात व्यवसायीले अहिले जे जसरी गाडी चलाएका छन् र एकाधिकार जमाएर यात्रुलाई दुःख दिइरहेका छन्, यो सरासर सिन्डिकेट नै हो भन्ने धेरै नेपालीलाई थाहा छ । तर उनीहरुले भने सरकारले नै तोकेको भाडा लिएको, सरकारले तोकेको रुटमा हिँडेको, कर तिरेको लगायका कारणले आफूहरुलाई ‘सिन्डिकेटधारी’ भन्नै नमिल्ने बताउँछन् ।

बुधबार आन्दोलनका कार्यक्रम घोषणा गर्न भएको पत्रकार सम्मेलनमा पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दुइ हात नै जोडेर आफूहरुलाई सिन्डिकेटधारी नभन्न र एकपक्ष्ीाय समाचार नलेख्न आग्रह गर्नुभयो ।

१० खर्ब रुपैयाँको लगानी गरेको, लाखौंलाई रोजगारी दिएको र यात्रुलाई सेवा गरेको संस्थालाई सिन्डिकेटको रुपमा प्रचार गरिदिएको भन्दै त्यसमा आपत्ति रहेको पनि उहाँले बताउनुभयो ।

माइकमा बोल्दै गर्दा दुई हात जोडेर महासचिव सिटौलाले भन्नुभयो, ‘म यौटा कुरा के निवेदन गर्न चाहन्छु भने, तपाईँहरुका हरेक हेडलाइनमा यो सिन्डिकेट भन्ने शब्द प्रयोग भएको छ, म साथीहरुलाई विनम्र अनुरोध गर्न चाहन्छु हामीले सिन्डिकेट लादेका छैनौं । हामी पनि यातायात क्षेत्र सुधार्न चाहान्छौं, अहिले पनि यतिधेरै समय बाँकी राखेर आन्दोलनका कार्यक्रम घोषणा गरेका छौं, यसको मतलब हामी सरकारसँग डायलग गर्न पनि तयार छौँ ।

महासचिव सिटाैलाले अगाडि भन्नुभयाे, ‘तर चैत १८ गते विभागबाट जुन निर्देशिका आयो त्यो एकपक्षीय छ, कम–से–कम हामीसँग एकपटक त छलफल गर्नुपथ्र्यो, तपाइँ पत्रकारसँग कुनै पनि छलफल नगरी सरकारले कुनै नियम ल्यायो भने तपाईँहरु मान्नुहुन्छ त ? हामीलाई त यिनीहरुले बन्द हड्ताल गरे भन्नुहुन्छ, तपाईँहरु पनि त्यो अवस्थामा पुग्नुहुन्छ । सिन्डिकेट भन्ने शब्द हटाएर अर्को शब्द राखेर सकारात्मक र रचनात्मक रुपमा हाम्रो आन्दोलनलाई हेरिदिनुहुनेछ भन्ने आशा लिएको छु । दश औंला जोडेर म फेरि पनि अनुरोध गर्छु, कृपया एकपक्षीय ढंगबाट प्रहार नगरिदिनुहोला ।’